२०७४- सदरमुकाम गुलरिया ९ की २० वर्षीया विनीता गोडियाले यसपालि पहिलोपटक मतदान गर्दै छिन् । निर्वाचनमा कति उम्मेदवारलाई मतदान गर्ने भन्नेबारे थाहै नभएको उनले बताइन् । भोट माग्न दर्जनौं आए, तर कसैले कसरी भोट हाल्नेबारे जानकारी नदिएको उनको भनाइ छ । ‘भोट मागे तर मत यसरी दिनु भनेर बताएनन्,’ उनले भनिन् ।

गुलरिया ५ की राजारानी थारूले अहिलेसम्म आफूलाई कसैले मत हाल्ने तरिका नसिकाएको दु:खेसो सुनाइन् । उनीमात्र होइन, अधिकांश महिलाले आफूहरूले उचित मतदाता शिक्षा नपाएको प्रतिक्रिया दिए । उनीहरूलाई आफ्नो भोट खेर जाने हो कि भन्ने चिन्ता छ ।

जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षाका लागि घरघरमा स्वयंसेवक खटाएको दाबी गरे पनि यिनीहरूले मतदान गर्नेबारे कसैले केही नसिकाएको दाबी गरे । सदरमुकामको दक्षिणी भेग मथुराहरिद्वार र पूर्व मोहम्मदपुरमा मतदाता शिक्षा प्रभावकारी नदेखिएको स्थानीय अगुवाको भनाइ छ ।

ग्रामीण क्षेत्रका महिला त घरबाट बाहिर ननिस्कने भएकाले भोट हाल्ने तरिकै थाहा नभएको गुलरिया १० का दीपक थारू बताउँछन् । उनले मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर हुने धेरै सम्भावना भएको बताए । मतदाता शिक्षाको अभावमा दोस्रो संविधानसभा निर्वाचनमा जिल्लाको ८ प्रतिशत मत बदर भएको थियो । निर्वाचन कार्यालय प्रमुख पवनकुमार शाहीले स्वयंसेवकमार्फत मतदाता शिक्षाका लागि सबै ठाउँ परिचालन गरिएको बताए । उनले सदरमुकामका केही वडामा कमीकमजोरी देखिए पनि अधिकांश ठाउँमा प्रभावकारी भएको दाबी गरे ।

जिल्लामा २ लाख ५३ हजार मतदाता छन् । तीमध्ये पुरुषको तुलनामा महिलाको संख्या बढी छ । पुरुष १ लाख २४ हजार २ सय १८ र महिला १ लाख २८ हजार २ सय १८ छन् ।




0 comments:

Post a Comment

 
Top