Tuesday, June 27, 2017

यसरी हुँदै छ तीन प्रदेशमा बिहानैदेखि मतदान

असार १४, २०७४- प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिका/ नगरपालिकाको नेतृत्व चयनका लागि बुधबार मतदान हुँदैछ। सात सय ४४ स्थानीय तहमध्ये प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ मा वैशाख ३१ गते निर्वाचन भइसकेको छ भने प्रदेश नम्बर २ का १ सय २७ स्थानीय तहमा तेस्रो चरणमा असोज २ गते मतदान हुने तोकिएको छ।



निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको सबै तयारी भइसकेको जनाएको छ। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतदानमा सरिक हुन सबै मतदातालाई आग्रह गरेका छन्। यादवले निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको बताए। कहींकतै जनताको मताधिकार कुण्ठित बनाउने प्रयास भए सुरक्षाकर्मीले समयमै त्यस्ता प्रयासलाई विफल पार्ने उनले बताए।



दोस्रो चरणमा तीन प्रदेशका ३५ जिल्लाका १ महानगरपालिका, ७ उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुन लागेको हो। ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताका लागि ८ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएको छ। कुल १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदातामध्ये पहिलो चरणमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाताले मत दिइसकेका छन्। पहिलो चरणको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको थियो। दोस्रो चरणमा पनि आयोगको त्यस्तै अपेक्षा छ। मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी परिचालन गरिएको आयोगले जनाएको छ।



No comments:

Post a Comment