२०७४- केही साता अघि मात्रै गुगलले आफ्नो लोकप्रिय फोटो स्टोरेज एप गुगल फोटोजमा नयाँ अपडेट घोषणा गरेको छ । प्रयोगकर्ताले यी अपडेट प्रयोग गर्न केही समय लाग्ने भए पनि अहिलेकै फिचर्सअनुसार गुगल फोटोज फोटो स्टोरेजका लागि सबैभन्दा उपयुक्त ठाउँ हो ।
प्रयोगकर्ताले जति पनि फोटोहरू राख्न सक्ने र जुनसुकै डिभाइसमा पनि चलाउन मिल्ने यसको विशेषता हुन् । स्मार्टफोन प्रयोगकर्ताका लागि यो झन् सबैभन्दा राम्रो विकल्प हो किनकि स्मार्टफोनको मेमोरी सीमित हुन्छ र प्रयोगकर्ताले वर्षांैदेखि भण्डार गर्ने फोटो असीमित हुनसक्छ । गुगल फोटोजले उनीहरूको असीमित फोटो नि:शुल्क भण्डारण गरिदिने र प्रयोगकर्ताले जहाँबाट पनि त्यसमा पहुँच पाउन सक्ने भएकाले यो लोकप्रिय पनि बनिरहेको छ ।
फोटो र भिडियोले स्मार्टफोनको अधिकांश स्पेस ओगटेका हुन्छन् तर तिनलाई गुगल फोटोजमा ब्याकअप गरेपछि आफ्नो स्मार्टफोनमा राखिरहनु जरुरी छैन । यसको लागि प्रयोगकर्ताले गुगल फोटोज एपको अप्सन बाराम क्लिक गरी क्लिन अप स्पेस अप्सनमा गएर ब्याकअप भइसकेका फोटो र भिडियो आफ्नो स्मार्टफोनबाट डिलिट गर्न सक्छन् ।
आइफोन र म्याकका प्रयोगकर्ताका लागि एप्पलको आफ्नै फोटोज एप छन् तर यसको स्टोरेज गुगल फोटोजको जस्तो असीमित नभई सीमित हुन्छन् । यसकारण आईफोन र म्याक प्रयोगकर्ताका लागि पनि गुगल फोटोज उपयुक्त स्थान हुन सक्छ ।
आफ्नो म्याक वा आइफोनमा गुगल फोटोज डाउनलोड गरेर भएका जति सबै फोटो र भिडियो ब्याकअप गर्न सकिन्छ । यसका लागि निम्न प्रक्रिया पछ्याउनुहोस् ।
आइफोन : स्क्रिनको माथिपट्टी रहने आफ्नो नाममा क्लिक गर्नुहोस् । आइक्लाउड अप्सनमा जानुहोस् र फोटो सेक्सनमा रहेको डाउनलोड एन्ड किप ओरिजिनल अप्सनमा क्लिक गर्नुहोस् ।
म्याक : फोटोज एप खोल्नुहोस् र बायाँपट्टि माथिल्लो भागमा रहेको फोटोज मेनुमा क्लिक गर्नुहोस । र, प्रिफरेन्स अप्सनमा क्लिक गरी डाउनलोड ओरिजिनल टु दिस म्याक अप्सनमा क्लिक गर्नुहोस् ।
अब तपाईंको आइफोन वा म्याकमा गुगल फोटोज छ भने तपाईंको सबै फोटोहरू स्वत: त्यसमा ब्याकअप हुनेछन् । गुगल फोटोजले असीमित स्पेस दिने हुँदा तपाईंलाई कुनै बेला भरिएला र राख्न नपाइएला भन्ने डर हुन्न । जसकारण ढुक्कले आफ्नो भएभरका फोटो र भिडियोहरू ब्याकअप गरी राख्न सक्नुहुन्छ ।
विन्डोज प्रयोगकर्ताले पनि आफ्नो कम्प्युटरमा गुगल फोटोज एप डाउनलोड गरी आफ्नो फोटो र भिडियो ब्याकअप गर्न सक्छन् ।
गुगल फोटोजको असिस्टेन्टले स्वत: तपाईंको फोटोबाट कोलाज बनाउने, जीआईएफ बनाउनेजस्ता काम गर्न सक्छ । त्योबाहेक आफूले चाहेको फोटोलाई तपाईंले यी रूपमा रूपान्तर पनि गर्न सक्नुहुन्छ । गुगल फोटोजले केही साता अघि मात्रै नयाँ फिचर सार्वजनिक गरेको छ जसको नाम हो– अर्काइभ ।
यो फिचरमा तपाईंले आफूले चाहेको फोटो वा भिडियो मेन फोल्डरबाट हटाएर लुकाउन सक्नुहुन्छ । यसका लागि फोटो वा भिडियोलाई सेलेक्ट गर्नुपर्छ र अर्काइभ अप्सनमा क्लिक गर्नुपर्छ । लगत्तै तपाईंले मेन फोल्डरमा नराख्न खोज्नुभएको फोटो अर्काइभ फोल्डरमा गएर बस्छ जुन प्रयोगकर्ताले आवश्यक परेको खण्डमा प्रयोग गर्न सक्छन् ।
गुगल फोटोजको अर्को विशेषता यसको सर्च बार हो जसमा प्रयोगकर्ताले विभिन्न ट्यागवर्डबाट खोज्न सक्छन् । जस्तो : सेल्फी, माउन्टेन, वाटर, लास्ट विक जस्ता ट्यागवर्ड प्रयोग गर्दा पनि गुगल फोटोजले स्वत: सम्बन्धित फोटो देखाउन सक्छ ।
गुगल फोटोजमा भएका हरेक फोटोलाई इडिट गर्न सकिन्छ । प्रयोगकर्ताले फोटोलाई सेलेक्ट गरेपछि इडिट अप्सन देख्न सक्छन् जहाँ अटो मोड प्रयोग गरी सजिलै इडिट पनि गर्न सक्ने अप्सन छ र प्रयोकर्ताले आफूलाई मनपर्ने शैली छान्न सक्ने व्यवस्था पनि छ ।
योबाहेक, गुगल फोटोजको सेटिङमा गएर वाईफाई हुँदा मात्र ब्याकअप गर्ने, कुन दिन ब्याकअप गर्ने, केके ब्याकअप गर्नेजस्ता अप्सन प्रयोगकर्ताले छान्न सक्छन् ।
यिनै विशेषताले गर्दा गुगल फोटोज प्रयोगकर्तामाझ लोकप्रिय छ र सम्भवत: यो अहिले भएकामध्ये फोटो स्टोरेजका लागि सबैभन्दा राम्रो विकल्प पनि हो ।




0 comments:

Post a Comment

 
Top