नेपाल विद्युत् प्राधिकरणको खुद नोक्सानी ९७ करोड रुपैयाँमा झरेको छ । प्राधिकरणको वार्षिकोत्सवका अवसरमा दिइएको जानकारीअनुसार गत वर्ष उक्त नोक्सानी ८ अर्ब ८९ करोड रुपैयाँ थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आर्थिक वर्ष २०७३/७४ मा खुद नोक्सानी भए पनि धेरै वर्षपछि सञ्चालन नाफा भएको छ । यस वर्ष २ अर्ब ४० करोड रुपैयाँ प्राधिकरणले सञ्चालन नाफा गरेको छ ।
‘विद्युत् चुहावट नियन्त्रण, आयातित बिजुलीको मूल्यमा स्थिरता, मूल्य समायोजन, ठूला सहरहरूमा भएको नियमित विद्युत् आपूर्ति र वित्तीय पुन:संरचनाका कारण नोक्सानी घटाउन सकिएको हो,’ कार्यकारी निर्देशक घिसिङले भने । यस अवधिमा २५.७८ प्रतिशत रहेको चुहावट दरलाई २२.९० प्रतिशतमा झारिएको जानकारी पनि घिसिङले दिए । चुहावट करिब ३ प्रतिशत विन्दुले घटेको छ । तर, प्राधिकरणको सञ्चालन नाफा र खुद नोक्सानीमा भएको ठूलो गिरावटको मुख्य कारण भने गत वर्ष बढाइएको महसुल हो । गत वर्ष भदौमा विद्युत् महसुल २० प्रतिशत बढाइएको थियो । यसैगरी एक वर्षमा प्राधिकरणका ग्राहक संख्या २९ लाखबाट बढेर ३२ लाख ६० हजार पुगेको जानकारी पनि उनले दिए ।
ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले विद्युत् प्राधिकरणलाई दुहुनो गाईका रूपमा हेर्दा घाटा भएको बताएका छन् । प्राधिकरणको २३ औं वार्षिकोत्सवको उद्घाटन गर्दै उनले प्राधिकरणमार्फत सबैले आफ्नो दुनो सोझयाउने सोच बनाउँदा घाटामा गएको दाबी गरे । ‘प्राधिकरणलाई दुहुनो गाईका रूपमा हेर्ने गरिन्छ । त्यही सोचले घाटामा छ । गत वर्षमा घाटा केही न्यूनीकरण भए पनि अघिल्लो वर्ष करिब ९ अर्ब नोक्सान थियो,’ मन्त्री शाहीले भने, ‘सबैले चुस्ने सोच बनाउँदा प्राधिकरणको अन्त हुन सक्छ ।’ प्राधिकरण व्यापारिक संस्था भए पनि बर्सेनि घाटामा गएको भन्दै उनले आक्रोश पोखे । ‘प्राधिकरणको जस्तै अधिकार भएका निजी संस्थानहरू नाफामा छन् । तर, सरकारी संस्थान कसरी घाटामा गयो । घाटाको जिम्मा कसले लिने,’ उनले भने, ‘यससम्बन्धमा गम्भीर छानबिन हुनु आवश्यक छ ।’ चुहावटलाई शतप्रतिशत नियन्त्रण गर्न नसक्दा घाटा व्यहोरेको उनको भनाइ थियो ।
कर्मचारीको लापरबाहीले ट्रान्सफर्मर पड्किने गरेको उनले बताए । कमिसनका लागि सामान खरिद र ट्रान्सफर्मर फेलबदल हुने गरेको उनले बताए । ‘अबदेखि जहाँको ट्रान्सफरर्मर पड्कन्छ त्यसको जवाफदेही सम्बन्धित क्षेत्रको प्रमुख हुन्छ,’ उनले भने, ‘ट्रान्समिटर पड्केको ठाउँमा तत्काल छानबिन गर्छौं ।’ प्राधिकरणको विकासका लागि ऐन कानुन परिमार्जन आवश्यक रहेको उनले बताए । कार्यकारी निर्देशक र केही कर्मचारीको संघर्षले लोडसेडिङमुक्त भइरहेको बताए । ‘काठमाडौंमा नयाँ इतिहास रचेको छ,’ उनले भने ।
यस्तै वार्षिकोत्सवको अवसरमा उनले प्राधिकरणमा महसुल बुझाउन आउने सर्वसाधारणलाई नमस्कार गर्न निर्देशन दिए । मुलुकभरका प्रत्येक काउन्टर अघि खानेपानीका साथै ट्वाइलेटको व्यवस्था गर्न पनि निर्देशन दिए । सेवाग्राहीलाई सुविधाका लागि आवश्यक स्थानमा बेन्च राख्न, पान खाएर थुक्ने प्रवृत्ति अन्त्य गर्न, सबै कार्यालय एउटै रङको बनाउन पनि उनले प्राधिकरणलाई निर्देशन दिए । ‘म देख्दै छु, कोठा–कोठामा चिया, खाना पकाउने गरिएको छ । त्यस्तो कार्य तुरुन्त बन्द गरियोस्,’ उनले भने, ‘अब छुट्टै क्यान्टिनको व्यवस्था हुनुपर्छ ।’ अबको १० दिनभित्रै आफूले दिएको निर्देशन कार्यान्वयन भयो/भएन अनुगमन गर्ने उनले बताए । मन्त्री शाहीले प्राधिकरणले तत्काल गर्ने कार्यका सम्बन्धमा ३४ बुँदे श्वेतपत्र जारी गरेको बताए ।
ऊर्जा सचिव एवं प्राधिकरण सञ्चालक समिति अध्यक्ष अनुपकुमार उपाध्यायले प्रसारण तथा वितरणलाई आधुनिकीकरण गरेर लैजानुपर्ने बताए । यसका लागि निजी कम्पनीको निर्माण पनि अपरिहार्य भएको बताए । अघिल्लो वर्षमा चुहावट नियन्त्रण, आयातित विद्युत्को कुशल व्यवस्थापनले उपत्यका लोडसेडिङमुक्त भएको बताए । आगामी दिनमा थप सुधार गर्न सबैको सहयोग आवश्यक रहेको उनले बताए । ‘उच्च भोल्टेजको विद्युत् निर्माणमा ढिलासुस्ती भएको छ ।
प्राकृतिक प्रकोपले थप जटिलता थपेको छ,’ सचिव उपाध्यायले भने, ‘विद्युत् संकटलाई दीर्घकालीन रूपमा अन्त गर्न सबै एकजुट हुन आवश्यक छ । निर्माणाधीन आयोजनाहरूको निर्माण समयमै सक्नुपर्छ ।’




0 comments:

Post a Comment

 
Top