काठमाडौं । ‘हेल्लो ! म ह्याकर बोलेको, तपाईँका सबै डाटा मेरो नियन्त्रणमा आइसकेको छ । म जतिसुकै बेला जे पनि गर्न सक्छु,’ नेपाल टेलिकमको काठमाडौंको भद्रकालीमा रहेको ल्याण्डलाइन नम्बर ०१–४२४३४४४ मा आइतबार बिहान टेलिफोन गरेर एक युवाले फोन काटिदिए ।
आइतबार बिहान १० बजेर १८ मिनेट जाँदा ती युवाले ९८६३७४५१७० नम्बरको मोबाइलबाट आफ्ना कुरा राखेर फोन काटिहाले ।
त्यसपछि टेलिकमको कार्यालयमा हल्लीखल्ली मच्चियो । नेपाल टेलिकमका इन्जिनियरसहित कार्यालय प्रमुखको बैठक बस्यो । यसबारेमा तत्काल प्रहरीलाई पनि खबर गरियो ।
नेपाल टेलिकमले सबै विवरण खुलाएर प्रहरीलाई पत्र लेख्दै उक्त व्यक्ति खोजबिनका लागि आग्रह गर्यो ।
महानगरीय अपराध महाशाखाले उक्त व्यक्तिका बारेमा अनुसन्धान सुरु गर्यो । सोमबार बिहान पत्ता पनि लगायो । नेपाल टेलिकमको कार्यालयमा फोन गर्ने पुरुषोत्तम अधिकारी रहेको खुल्यो । उनी ओखलढुंगा सुनकोसीका रहेछन् ।
कक्षा १२ को अध्ययन सकेर भर्खरै काठमाडौं आएका उनी ह्याकर भएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान सुरु गर्यो ।
प्रहरीसँगको बयानमा अधिकारीले नेपाल टेलिकमको सेवा राम्रो नभएको, नागरिक ठगिएको भन्दै सचेत गराउन आफूले फोन गरेको बताएका छन् । उनले आफू कुनै पनि ह्याकर नभएको बयान दिएका छन् ।
“नेपाल टेलिकमबाट पत्र आएपछि हामीले अनुसन्धान थालेका हौं,” अपराध महाशाखाका एसएसपी दिनेश अमात्यले बाह्रखरीसँग कुरा गर्दै भने, “टेलिकमले भनेजस्तो ह्याकर भएको खुलेको छैन तर हामीले सार्वजनिक ऐनअन्तर्गत मुद्दा दायर गरेका छौं ।”

0 comments:

Post a Comment

 
Top