भारतले नेपालको संविधानबारे आफ्नो ‘पोजिसन’ निरन्तर एउटै र स्पष्ट रहेको बताएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवासँग हैदरावाद हाउसमा भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा भारतीय समकक्षी नरेन्द्र मोदीले दुई चरणको स्थानीय चुनाव भएकामा बधाई दिए । साथै सबैसँग संवाद जारी राख्न र सबैको आकांक्षा समाहित गरी संविधान कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।नेपालको संविधानलाई अझैसम्म स्वागत नगरेको भारतका प्रधानमन्त्रीको यो अभिव्यक्ति विगतको तुलानामा केही हदसम्म नरम मानिएको थियो ।तर, साँझ आयोजित ‘मिडिया बि्रफिङ’मा विदेश सचिव सुब्रमण्यम जयशंकरले संविधान संशोधनमा भारतको ‘पोजिसन’को निरन्तरता खुलाएका हुन् ।उनले भने, ‘त्यो भनेको संविधान कार्यान्वयनको प्रक्रियामा समाजका सबै तह र तप्कालाई समेटेर अगाडि बढ्ने प्रयासलाई जारी राख्नुपर्छ र नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रका रुपमा स्थापित बन्नु पर्छ ।’मोदीसँगको भेटमा प्रधानमन्त्री देउवाले संविधान संशोधन र मधेशकेन्द्रित दलहरुको माग सम्बोधन गर्न सरकारले गरेको प्रयास ‘सेयर’ गरेको जयशंकरले बताए ।दुई प्रधानमन्त्रीबीचको भेटमा चीन-भुटान सीमाको दोक्लाममा जारी तनावबारे कुनै कुरा नभएको जयशंकरले दाबी गरे । भारत र चीनको तनाव बढेका बेला भएको भेटमा दोक्लामबारे केही कुराकानी भएन त भन्ने प्रतिप्रश्नमा उनले हाँस्दै भने, ‘अहँ भएन ।’कश्मीरको उरीमा आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढेको तनावका कारण सार्क शिखर सम्मेलन हुन सकेको छैन । तर, देउवा र मोदीबीच यसबारे कुराकानी नै नभएको जयशंकरको जवाफ थियो । जबकि, नेपाल सार्कको अध्यक्ष राष्ट्रसमेत हो ।

0 comments:

Post a Comment

 
Top