भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समाजका सबै वर्गसँग संवाद जारी राख्दै नेपालमा सबै नागरिकको आकांक्षालाई समाहित गरेर संविधानलाई सफलतापूर्वक लागु गर्ने विश्वास व्यक्त गरेका छन् ।भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले उनको कुशल र अनुभवी नेतृत्वमा यो सम्भव हुन सक्ने औंल्याए । अपेक्षा गरिएझैं मोदीले नेपालको संविधानलाई स्वागत गरेनन् । तर, सोहीअन्तर्गत् भएको स्थानीय तहको दुई चरणको चुनाव सफलतापूर्वक सम्पन्न गराएकामा नेपाल सरकारलाई बधाइ दिए । मोदीले भने, ‘नेपालमा लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउनका लागि तपाईंले जसरी व्यक्ति तवरबाट महत्वपूर्ण भुमिका निर्वाह गर्नु भयो, त्यसको म प्रशंसा गर्छु ।’
नेपाली भाषाबाट आफ्नो मन्तव्य सुरु गरेका थिए मोदीले, ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य नेपाली अतिथि गणलाई नयाँदिल्लीमा स्वागत गर्न पाउँदा हामीलाई धेरै खुशी लागेको छ ।’भारतमा प्रधानमन्त्री देउवालाई स्वागत गर्ने अवसर मिल्नु आफ्नो सौभाग्य रहेको बताए । भने, ‘महामहिम, तपाईंको यो भ्रमण एक यस्तो ऐतिहासिक समयमा भइरहेको छ, हामी हाम्रो कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठ मनाइरहेका छौं । तथापि, हाम्रो सम्बन्ध हिमालय जत्तिकै पुरानो हो ।’‘महामहिम, हाम्रा दुवै मुलुकका बासिन्दा आपसमा गाँसिएका छन् । पारस्परिक सहयोगको क्षेत्रमा दुवै मुलुकको भागेदारी रहँदै आएको छ । हामी पारस्परिक उपलब्धिहरुप्रति गर्व गर्छौं,’ मोदीले थपे, ‘ठीक त्यसरी नै, आपसी पीडाको अनुभव पनि गर्छौं । एक नजिकको छिमेकी र मित्र देशका नाताले भारत नेपालमा शान्ति, स्थायित्व र उसका आर्थिक समृद्धिका प्रति सधैं सहज रहँदै आएको छ ।’भारतलाई नेपालको विकास र आर्थिक प्रगतिको प्रयासहरुमा साझेदारी हुने सौभाग्य प्राप्त रहेको मोदीको जिकिर थियो । उनले भने, ‘महामहिम, लोकतन्त्रबाट आएको उन्नति शान्तिको स्थापना र सर्वांगिण विकासका लागि नेपालका नागरिकहरुको उपलब्धिहरुको हामी मुरी-मुरी प्रशंसा गर्छौं, सराहना गर्छौं ।’

0 comments:

Post a Comment

 
Top